कोरोना संक्रमणदर बढेका कारण प्रचण्डले भौतिक रुपमा भेटघाट नगर्ने
काठमाडौं, पुस २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक रुपमा भेटघाट नगर्ने भएका छन्। बिहीबार सचिवालय मार्फत सार्वजनिक भएको विज्ञप्तिअनुसार काठमाडौं...
काठमाडौं, पुस २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक रुपमा भेटघाट नगर्ने भएका छन्। बिहीबार सचिवालय मार्फत सार्वजनिक भएको विज्ञप्तिअनुसार काठमाडौं लगायत देशभर कोरोना संक्रमण बढेका कारण प्रचण्डले भौतिक रुपमा हुँदै आइरहेका भेटघाट स्थगित गरेका हुन्।
विज्ञप्तिमा स्वास्थ्यकर्मीको सुझाअनुसार नै प्रचण्डले भौतिक रुपमा भेटघाटका कार्यक्रमलाई तत्कालका लागि रोक्ने निर्णय गरिएको उल्लेख छ। अब पार्टीको नियमित छलफल र बैठक पनि भर्चुअल विधिबाट गर्ने बताइएको छ।
पार्टीको अध्यक्षमा पुनः निर्वाचित भएपछि विगत तीन दिनदेखि प्रचण्डलाई खुमलटार पुगेर नेता तथा कार्यकर्ताहरुले बधाई तथा शुभकामना दिँदै आइरहेका छन् । बिहीबारदेखि भने भौतिक रुपमा बधाई तथा शुभकामना आदानप्रदानमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।
‘हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।’











