Kathmandu Press

नारायणहिटी संग्रहालयमा बनिरहेको रेस्टुरेन्टबारे छानबिन गर्न समिति

काठमाडौं, पुस २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय परिसरमा बनिरहेकाे रेस्टुरेन्टबारे छानबिनका लागि समिति गठन गरेको छ। आज (बिहीबार) मन्त्रालयले...
नारायणहिटी संग्रहालयमा बनिरहेको रेस्टुरेन्टबारे छानबिन गर्न समिति

काठमाडौं, पुस २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबार संग्रहालय परिसरमा बनिरहेकाे रेस्टुरेन्टबारे छानबिनका लागि समिति गठन गरिएको छ। 

आज (बिहीबार) मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाबारे  छानबिन गर्न समिति गठन गरिएको हाे।

सो समितिमा मन्त्रालयकाे कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारीका साथ शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन्।

दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए।

उनले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिएका थिए। मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ।

समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो। पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार आएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्