Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा गठबन्धनको समन्वय समिति

सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ। सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा...
राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा गठबन्धनको समन्वय समिति

सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ। सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफल भएको र गठबन्धनका तर्फबाट प्रचार र व्यवस्थापनका लागि सातै प्रदेशमा पाँचै दलका प्रतिनिधिसहितको समन्वय समिति बनाएर अघि बढ्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले जानकारी दिए। सो निर्वाचनमा गठबन्धनले यसअघि नै साझा उम्मेदवारी तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गरिसकेको छ। 

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संयन्त्रका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए।

त्यसैगरी नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव भुसाल, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।

माघ १२ गते १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ। गठबन्धनसम्बद्ध सबै उम्मेदवारलाई विजयी गराउने हिसाबले सातवटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।

गठबन्धनका नेताहरुले प्रधानमन्त्री देउवालाई अनुकूल भए नेपालको राष्ट्रियता, जनसरोकारलगायत विषयमा भारतसँग कुरा राख्न सुझाव दिएको जनाइएको छ। बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिको अवस्थाबारेसमेत कुरा भएको थियो। 

आजकै बैठकमा संयोजक पौडेलले संसदको गतिरोध हटाउन एमाले अध्यक्ष केपी ओलीसँग भएको छलफलका बारेमा पनि ब्रिफिङ गरेका थिए। लामो समयदेखि संसद निरन्तर अवरोध भएपछि संयन्त्रको संयोजकको हैसियतले नेता पौडेलले बुधबार ओलीसँग उनकै निवासमा पुगेर छलफल गरेका थिए।

 

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्