Kathmandu Press

अनुगमनका लागि केएमसी पुगे शिक्षामन्त्री, भाेलिसम्म शुल्कबारे रिपोर्ट दिन निर्देशन

काठमाडौं, पुस २२ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज (बिहीबार) बिहान भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शुल्क विवादबारे जानकारी लिएका...
अनुगमनका लागि केएमसी पुगे शिक्षामन्त्री, भाेलिसम्म शुल्कबारे रिपोर्ट दिन निर्देशन

काठमाडौं, पुस २२ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज (बिहीबार) बिहान भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शुल्क विवादबारे जानकारी लिएका छन्।

कलेज प्रशासनसँग विद्यार्थीसँग लिएको अतिरिक्त शुल्कबारे जाँचबुझ गर्न मन्त्री पौडेल प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित त्यहाँ पुगेका हुन्। कलेजले अतिरिक्त शुल्क लिएको भनी विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि मन्त्री पौडेलले त्यसमा चासाे दिएका थिए।

मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर  विद्यार्थीसँग लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेस गर्न कलेजलाई निर्देशन पनि दिएका छन्। 

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले कलेज सञ्चालकले बढी शुल्क लिन नपाउने उनले बताए। अनुगनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भने, ‘‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ।’ 

मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए। ‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्,’ मन्त्री पौडेलले निर्देशन दिँदै भने।

केएमसीले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन सुरु गरेका छन्। प्रदर्शनमा मेिडकलका विद्यार्थीसँगै अभिभावक पनि उत्रिएका छन् । उनीहरूलाई अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले पनि साथ दिएका छन्।

मेडिकल कलेजहरूले अतिरिक्त शुल्क लिएको विरोधमा एक महिनादेखि आन्दोलन जारी छ।  काठमाडौं मेडिकल कलेज सिनामंगलमा पनि चार दिनदेखि रिले अनशन जारी छ।

मुलुकका विभिन्न भागमा सञ्चालित मेडिकल कलेजहरूमा पनि विद्यार्थीको आन्दोलन चलिरहेको छ। चिकित्सा शिक्षा आयोगले सोधेको स्पष्टीकरणमा कलेजहरूले अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाए थिए । तर ती कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क मागिरहेका छन्। 

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्