चिसोका कारण सिरहामा एक वृद्धाको मृत्यु

सिरहा, पुस २२ : केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।
सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको चिसोले कठ्याङ्ग्रिएर बुधबार साँझ मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन्। घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै वेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले बताए।
यसअघि मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। उपमहानगरसहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी पठनपाठन बन्द गरेका छन्।
चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन्। विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ। टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ।











