Kathmandu Press

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैन : महामन्त्री शर्मा

काठमाडौं, पुस २१ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्...
दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैन : महामन्त्री शर्मा

काठमाडौं, पुस २१ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन् । 

आज गृह जिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन् । “कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन”, उनले एमसिसी संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद भइरहेको सन्दर्भमा भने, “कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन ।

एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिनेछ ।” देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्‍याउने गरेको समेत चर्चा गरे । विगतमा अरुण तेस्रो जलविद्युत् परियोजनामा विदेशी लगानी अस्वीकार गरिँदा मुलुक विद्युत्भार कटौतीको चपेटाबाट गुज्रिएको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, “राष्ट्रवादको मनोविज्ञानले समाजको प्रगतिमा अवरोध सिर्जना गर्दो रहेछ ।

विसं २०५१ मा अरुण तेस्रो बनाउन दिएको भए २०६१ मा विद्युत्भार कटौती मुर्दावादको नारा लगाउनैपर्ने थिएन ।” पार्टीभित्रका विभिन्न पदमा मनोनीत गर्ने र विभाग गठनका विषयमा कुनै ढिलासुस्ती नहुने महामन्त्री शर्माले बताए । महामन्त्री शर्मा विगत दुई दिनदेखि गृह जिल्लाका पार्टी कार्यक्रममा व्यस्त रहँदै आएका छन् ।  

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्