Kathmandu Press

आफूपक्षीय बैठकमा शेखर कोइरालाले भने– पार्टीमा न्यायोचित अवसरको वितरण हुन जरुरी छ

काठमाडौंं, पुस २१ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताएका छन्। १४औं महाधिवेशनको समीक्षाका लागि...
आफूपक्षीय बैठकमा शेखर कोइरालाले भने– पार्टीमा न्यायोचित अवसरको वितरण हुन जरुरी छ

काठमाडौंं, पुस २१ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताएका छन्। १४औं महाधिवेशनको समीक्षाका लागि बुधवार काठमाडौंको बसेरा बुटिक होटलमा भएको बैठकमा कोइरालाले पार्टीलाई एकतावद्ध बनाइराख्न  सक्षम व्यक्तिहरुले स्थान पाउनुपर्ने बताएका हुन्। 

उनले पार्टीको पदाधिकारीमा निर्वाचित भएका उम्मेदवारहरुलाई बधाई दिँदै नवनिर्वाचित पदाधिकारीबाट कांग्रेसले मात्र नभई सम्पूर्ण देशले आशा गरेको समेत बताएका छन्। 

नेता कोइरालाले महाधिवेशनपति सभापति देउवाले मनपरी ढंगबाट केन्द्रीय सदस्य मनोनयन गरेको आरोप समेत लगाएका  छन्। उनले नेतृत्वलाई कुन मापदण्डबाट केन्द्रीय सदस्य मनोनयन गरिएको हो भनेर प्रश्नसमेत गरेका छन्। 

उनले भने, ‘सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेका साथी त्यागी र योग्य हुनुहुन्छ तर केन्द्रीय सदस्य मनोनयन गर्दा कुनै विधि र मापदण्ड बनाएर गरिएको हो ?’

उनले पार्टी सभापति शेरबहादुर देउवाले मन परेका र मन नपरेका व्यक्ति छुट्याउन थाले पार्टीमा दुर्घटना निम्तिन सक्ने बताए । 

‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भयो भने दुर्घटना निम्तिन सक्छ,’ कोइरालाले भने, ‘पार्टीको निर्णय प्रक्रियामा भूमिका खेल्न सक्ने संख्या कम छौं भन्ने हामीलाई थाहा छ तर समक्ष रूपमा आवाज उठाउन सक्छौं र त्यो आवश्यक छ ।’

कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने समेत बताएका छन्। ‘३ वटा निर्वाचन सम्मुख छ । कांग्रेस एक्लै चुनाव लड्छ र १ नम्बरको पार्टी बनाउन सकिन्छ,’ उनले भने, ‘हामी थाक्ने छैनौं, विश्राम लिने छैनौं । कार्यकर्ताको शिर झुक्न दिने छैनौं ।’

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्