प्रचण्ड पार्टी र देशकै अभिभावक, त्यसकारण पुनः नेतृत्वकाे जिम्मेवारी : नेता गुरूङ
काठमाडौं, पुस २१ माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी र देशकै अभिभावक भएकाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै पुनः पार्टी नेतृत्वको जिम्मेवारी दिएको...
काठमाडौं, पुस २१ : माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी र देशकै अभिभावक भएकाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै पुनः पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका छन्।
आज (बुधबार) सञ्चारकर्मीसँगको कुराकानीमा उनले यही पुस २५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले बाँकी पदाधिकारीबारे टुंगो लगाउने पनि जानकारी दिए। उनले पार्टी महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी आइरहेको र सहमतिमा लैजाने प्रयास भइरहेको बताए।
‘उहाँहरूको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कमरेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँहरू दुईजनाका बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कमरेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ।’
उनले बाँकी पदाधिकारी चयन सबैको राय, परामर्श, सुझावका आधारमा हुने दाबी उनले गरे। महासचिवका लागि आफ्नो नाम पनि प्रस्तावमा परेको पनि बताए।
आफूले हालसम्म कुनै पदमा दाबी नगरेको स्पष्ट पार्दै उनले सहमतिका क्रममा महासचिव बन्ने प्रस्ताव आए पछि नहट्ने बताए। उनले पार्टी पदाधिकारी चयनका लागि निर्वाचन गरिन नहुनेमा जोड दिँदै सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरे।
पदाधिकारी चयनका लागि निर्वाचन गरे क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने उनको भनाइ थियो।
स्थायी समितिकै सदस्य वर्षमान पुन उपचारमा नै रहेको र आफू नफर्कँदासम्म पदाधिकारी नबनाइयोस् भन्ने कुरा उनीबाट आएकाले बैठक सारिएको पनि नेता गुरुङले बताए।











