नारायणहिटी प्रकरणमा मेरो कुनै संलग्नता छैन : योगेश भट्टराई

काठमाडौं, पुस २१ : नेकपा एमालेका सचिव नाराणणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट खोल्न अनुमति दिने सम्बन्धमा आफ्नो कुनै भूमिका नभएको प्रष्ट पारेका छन्।
तत्कालीन पर्यटनमन्त्री रहँदा भट्टराइले नै नारायणहिटीमा रेस्टुरेन्ट खोल्न बतास समूहलाई अनुमति दिएको भन्ने समाचारहरु प्रकाशन भएपछि सामाजिक सञ्जालमार्फत उनले त्यसको खण्डन गरेका हुन्।
उनले बतास समूहलाई नारायणहिटी परिसरमा रेस्टुरेन्ट खोल्न दिने निर्णयमा आफ्नो कुनैपनि संलग्नता नरहेको बताएका छन्। त्यसबारेमा आफू अनभिज्ञ रहेको समेत उनको दाबी छ।
साथै सो प्रकरणमा आफ्नो हस्ताक्षरसहितको लिखित निर्देशन पत्र सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन्। ‘आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वतः स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु।’
उनले आफू मन्त्री हुनअगावै नाराणहिटी परिसरमा कफी हाउस बनिसकेको समेत दाबी गरेका छन्।











