Kathmandu Press

बुधबारदेखि देशका केहि  स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह 

बुधबारदेखि देशका केहि  स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह 

काठमाडौं, पुस २० : बुधवार (भोलि ) देखि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज मङ्गलवार रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव भोलिदेखि केहिदिन सम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाका अनुसार सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना छ । सामान्य प्रभाव भने देशभरि नै पर्नेछ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । 

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्