गुरुकुलमा सबै समुदायले पढ्न पाउनुपर्ने माग
काठमाडौं पुस २० : समानता अभियान नेपालले दलित लगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न माग गरेका छन्।मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार...
काठमाडौं पुस २० : समानता अभियान नेपालले दलित लगायतका सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न माग गरेका छन्।
मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अभियानले देशभरका संस्कृत गुरुकुलमा दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायत सबै जातजातिहरुलाई गुरुकुलमा पढ्न पाउने अधिकार सुनिश्चित् गर्न सरकारसँग माग गरेका हुन् । ‘गुरुकुलमा जातीय विभेद अन्त्य गरौं, सबैले वेद पुराण पढुन्’ भन्ने अभियानको नारा छ ।
कार्यक्रममा बोल्दै अभियान नेपालका संयोजक चन्द्रकान्त पौडेलले जातीय प्रथा अन्त्य गर्न गुरुकुलमा सबैले पढ्न पाउनुपर्ने बताए । ‘वर्ण व्यवस्था कर्मको आधारमा हुन्छ, भागवत गीतामा पनि गुण र कर्मको आधारमा वर्ण व्यवस्था गरिएको छ,’ संयोजक पौडेलले भने, ‘गुण र कामको वर्गिकरणको आधारमा वर्ण व्यवस्था गरिएको हो,’ उनले भने।
समाजमा धर्मगुरु, पण्डितलाई एउटा श्रद्धाको दृष्टिले हेर्ने भन्दै उनले त्यो श्रद्धा सबै जातले पाउनुपर्ने पनि उनले बताए । ‘गुरुकुलमा सबै जातजातिले पढ्न पाउनुपर्छ । सबै जातीलाई समाजले श्रद्धाले हेर्न पाउनुपर्छ,’ उनले भने ।
संस्कृत गुरुकुलमा आधारभुत संस्कृत शिक्षा पढ्न नपाएका कारणले विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नबाट दलित, आदिवासी, जनजाती तथा खस क्षेत्रीहरु पनि बञ्चित भएको उनले बताए । संयोजक पौडेल भन्छन्, ‘संस्कृत विश्वविद्यालयमा दलित, जनजाति, महिलालाई संस्कृत पढेबापत बिशेष छात्रवृत्तिको व्यवस्था हुनुपर्छ ।’
विश्वविद्यालयबाट सृजना हुने रोजगारको अवसरबाट समेत दलित, आदिबासी, जनजाती, खस क्षेत्री बन्चित भएको उनको भनाई छ । उनले गुरुकुलमा ९५ प्रतिशत भन्दा धेरै ब्राह्मण रहेको भन्दै अरु जातीले पनि पढ्न पाउनुपर्ने माग गरे । ‘वेदको पुराणको कुन श्लोकले मानिस जन्मदै ब्राह्मण हुन्छ ? आधार दिनुहोस् भनेर गुरूहरुलाई प्रश्न सोध्न पर्ने दिन आएको छ,’ उनले भने।
त्यस्तै, समानता अभियान नेपाल सदस्य जनक घिमिर कानुनको दस्तावेजहरुले जातिय विभेदको अन्त्य भएपनि समुदायमा अन्त्य नभएको बताउँछन् । सदस्य घिमिरे भन्छन्, ‘जातीय विभेदकै कारण सस्कृत गुरुकुलमा आएको ९० छात्रबृत्ति रकम फ्रिज हुन्छ।’ त्यसैले अव दलित समुदाय लगायत अन्य समुदायलेपनि गुरूकुलमा पढ्नपाउनुपर्ने उनको भनाई छ ।











