संयुक्त राष्ट्रसंघद्धारा सुडान हिंसाको निन्दा
संयुक्त राष्ट्रसंघ, पुस २० : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको...
संयुक्त राष्ट्रसंघ, पुस २० : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन्।
यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन्।
सुडानमा आन्दोलनका क्रममा भएको हिंसाको विरोध गर्दै महासचिव गुटर्रेसले प्रहरीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।उनले भनेका छन– यो प्रदर्शनका क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ, प्रहरीले नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना असहमतिका विषयमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकारको सुरक्षा गर्नुपर्छ।
महासचिवका प्रवक्ता स्टेफान डुजारिकले यस्तो अवस्थामा सुडानमा शान्तिपूर्ण रुपमा राजनीतिक निकासको खोजी गर्न आग्रह गरेका छन् । यनको राजनीतिक अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेको बताइएको छ । साथै महासचिव गुटर्रेसले यहाँका सबै राजनीतिक शक्ति र पार्टीहरुलाई शान्तिपूर्ण वार्ताको टेबुलमा बसेर निकास खोज्ने काममा लाग्न पनि आग्रह गरेका छन्।
सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले गत आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए। सुडानमा पछिल्लो समय राजनीतिक सङ्कट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ ।
राजनीतिक सङ्कट थप बढ्दै गएका बेला उनले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ। नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएको बताइएको छ ।
टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका छन्। देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनी भन्छन्,‘‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु।’
सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उनले सङ्क्रमणकालीन अवधिको बाँकी काम पूरा गर्न मद्दत गर्ने बताएका छन्। गत अक्टोबर महिनामा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो ।
तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो । सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो।












