Kathmandu Press

आजदेखि कोरोना खोपको अतिरिक्त डोज दिइँदै

काठमाडौं, पुस २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त डोज दिने भएको छ।  कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको...
आजदेखि कोरोना खोपको अतिरिक्त डोज दिइँदै

काठमाडौं, पुस २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त डोज दिने भएको छ।  

कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित समूहका व्यक्तिलाई थप एउटा डोज दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त डोज दिन लागिएको बताए।

मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त डोज दिइने जनाएको छ। बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ, अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्नेछ।

यो बुस्टर डोज होइन। यो कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइन लागेको उनले बताए।

पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त डोज दिइनेछ। कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिशमा मन्त्रालयले थप एउटा डोज दिन लागेको हो।

मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त डोज दिने तय गरेको छ।

प्रकाशित मिति: ०६:४६ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्