बोत्स्वानाका राष्ट्रपति कोरोनाभाइरसबाट सङ्क्रमित

गाबोरोन, पुस १९ : बोत्स्वानाका राष्ट्रपति मोक्वीत्सी मासिसी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले आइसोलेसनमा बसेकाे अधिकारीहरुले जानकारी दिएका छन्।
'राष्ट्रपतिलाई रोग वा सङ्क्रमणको कुनै लक्षण त देखिएको छैन, तर शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमण भएको पुष्टि भएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।
उनलाई अहिले चिकित्सकहरुको निगरानीमा राखिएको छ भने उनले पनि आवश्यक मापदण्डहरुको पालना गरेका छन।
राष्ट्रपति आइसोलेसनमा बसेपछि उनको कार्यभार हाललाई उपराष्ट्रपति स्लुम्बर सोग्वानलाई दिइएको छ। राष्ट्रपति आइसोलेसनबाट ननिस्केसम्म उपराष्ट्रपतिले नै काम गर्ने जनाइएको छ।
अफ्रिकी मुलुक बोत्स्वानामा अहिलेसम्म दुई लाख १९ हजार ५०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
उनीहरुका अनुसार बोत्स्वानामा अहिलेसम्म कोरोनाभाइरसकै कारण दुई हजार ४४४ जनाको मृत्यु भएको छ।
कूल जनसङ्ख्याको ४८.६ प्रतिशतले कोरोनाभाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् भने ४३ प्रतिशतले मात्रै दुवै खोप लगाएका छन्।












