कांग्रेसमा अब गुटबन्दीको अन्त्य भएको छ : महामन्त्री थापा
काठमाडौं, पुस १९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसमा गुटबन्दी सकिएको बताएका छन्।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले ...
काठमाडौं, पुस १९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसमा गुटबन्दी सकिएको बताएका छन्।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले अबदेखि गुटबन्दी र भागबण्डा हुन नदिने बताउंदै आउँदो चुनाव जितेर ५ वर्ष सरकार चलाउने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।
आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउने लक्ष्य रहेको बताउँदै उनले पार्टी प्रवेशलाई अभियानकै रुपमा अघि बढाउने बताए।
'पार्टीमा अब हामी गुट र भागबण्डा केही हुन दिँदैनौँ। सिंगो कांग्रेस बनाएर चलाउँछौँ,’ उनले भने।
आगामी निर्वाचनबाट बहुमत ल्याएपछि कांग्रेसले पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता उनले गरे।
साथै, गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ।
‘२०७४ मा माओवादीले बहुमत ल्याएपनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर प्रचण्ड बहुमत ल्याएपनि देश चलाउन सकेनन्’–थापाले भने–‘ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो।’











