कोभिडविरुद्धको अतिरिक्त खोप दिँदै सरकार, क–कसले पाउँछन् ?
काठमाडौं, पुस १९ : नेपालमा कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिइने भएको छ। जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई...
काठमाडौं, पुस १९ : नेपालमा कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिइने भएको छ।
जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै रोग प्रतिरोधात्मक क्षमता बढाउने थप खोप मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यो बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको हो।
यस्तै, मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामीलाई उक्त खोप डोज दिइनेछ।
साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिले सरकारले दिन लागेको यो अतिरिक्त खोप पाउने छन् । थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ।
खोप लगाउनका लागि आफूले यस अघि खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।











