अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले भने– मेरा लागि यो अन्तिम अवसर र अन्तिम चुनौती
उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यहरूलाई धन्यवाद पनि दिए।
काठमाडाैं, पुस १९ : माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता रहेकाले आफू अझै केही समय राजनीतिमा सक्रिय रहनुपर्ने बाध्यता आएको बताएका छन्।
अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई पनि अझै सुदृढ गर्ने आवश्यकताबीच आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस गरिरहेको बताए।
लामो समय, धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानुपर्ने लागिरहे पनि फेरि एकपटक जिम्मेवारीमै रहनुपर्ने अवस्था आएको उनले स्पष्ट पारे।
तर आफ्ना लागि यो अन्तिम अवसर मात्र नभएर अन्तिम चुनौती पनि भएको उनले बताए। उनले माओवादी एउटा विचार भएकाले कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनले बताए।
उनले पार्टीको महाधिवेशन कुनै व्यक्तिको आदेशअनुसार चल्न नदिएको पनि दाबी गरे। साे अवसरमा उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यहरूलाई धन्यवाद पनि दिए ।











