Kathmandu Press

देव गुरुङलाई महासचिव बनाउने प्रस्तावपछि माओवादी केन्द्रमा तरङ्ग

गुरुङ भन्छन्, ‘मैले व्यक्तिगत रुपमा कुनैपनि पद मागेको छैन, नेतृत्वले मुल्यांकन गरे जिम्मेवारी सम्हाल्न तयार छु।’
देव गुरुङलाई महासचिव बनाउने प्रस्तावपछि माओवादी केन्द्रमा तरङ्ग

काठमाडौं, पुस १९ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीको पदाधिकारी चयनको विषय उत्कर्षमा पुगेको छ। 

अनेक विवादका बीच केन्द्रीय कमिटीको टुंगो भने आइतबार नै लागिसकेको छ। आइतबार अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको सूची हलबाट अनुमोदन गरिएको थियो। महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुले सोमबार सपथ समेत लिइसकेका छन्। 

केन्द्रीय कमिटीको टुंगो लागेपछि अब पदाधिकारी चयनको विषय माओवादी केन्द्रमा पेचिलो बनेको छ। अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भइसकेका छन्।

अध्यक्षपछिको शक्तिशाली पद ‘महासचिव’ का लागि भने शीर्ष नेताबीच नै रस्साकस्सी सुरु भएको छ। बन्दसत्र जारी रहँदा प्रभावशाली नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा, शक्ति बस्नेत र पम्फा भुसालमध्य एकजना महासचिव बन्ने चर्चा थियो। 

यी चारैजना नेताहरुले अध्यक्ष प्रचण्डसँग आ–आफ्नो दाबी समेत प्रस्तुत गरेका थिए। एक पदका लागि चारजना बढी व्यक्तिले दाबी गरेपछि सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने उद्घोष गरेका प्रचण्ड संकटमा परेका छन्। 

पार्टीभित्र विवाद हुन नदिनका लागि प्रचण्डले महासचिवमा देव गुरुङलाई अघि सारेका छन्। गुरुङलाई अघि सार्दा पार्टीको पदाधिकारीमा जनजाती आउने र यसबाट पार्टीले उठाउँदै आएको समावेशीको सिद्धान्त पनि कार्यान्वयन हुने हिसाबबाट प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने प्रस्ताव गरेका थिए। 

महासचिव बन्ने दौडमा नै नरहेका व्यक्तिलाई प्रचण्डले महासचिव प्रस्ताव गरेपछि माओवादी केन्द्रभित्र तरंग उत्पन्न भएको छ। यता, गुरुङलाई महासचिव बनाउने प्रचण्डको प्रस्तावलाई जनार्दन शर्माले ठाडै अस्वीकार गरेको एक नेताले बताएका छन्। उनले जुनसुकै अवस्थामा पनि महासचिवबाट पछि नहट्ने अडान राखेका छन्। 

यता स्थायी कमिटी सदस्यसमेत रहेका देव गुरुङले भने आफूले कुनैपनि पदको माग नगरेको बताएका छन्। काठमाडौं प्रेससँगको कुराकानीमा आफूले व्यक्तिगत रुपमा कुनैपनि पदको माग नगरेको नेता गुरुङले बताएका हुन्। ‘मैले कुनै पदको मागदावी गरेको छैन्, पार्टीले तोकिदिएको जिम्मेवारी पुरा गर्न पहल गर्ने मात्र हो,’ उनले भने।  

आकांक्षीको लाइन लामो भएका कारण पार्टीको महासचिव को बन्छ भन्ने निश्चित नभइसकेको माओवादी केन्द्रकी एक नेतृले बताइन्। शक्ति बस्नेत र जनार्दन शर्माले आ–आफ्नो दाबी नछाडेका कारण अध्यक्षले तेस्रो व्यक्तिलाई महासचिव बनाउन लागेको उनले बताइन्। 

लामो समय पार्टीका लागि अनवरत रुपमा खटिएका देब गरुङ्गको मुल्याकंन हुन आवश्यक रहेको पनि उनको भनाई छ।  केन्द्रीय कमिटीको टुंगो लगाउन समेत हम्मेहम्मे परेको माओवादीको पदाधिकारीमा को–को आउँछन् त्यो भने बहुप्रतिक्षित नै छ। 

 
 

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्