क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र कसरी प्राप्त गर्ने? यस्तो छ प्रक्रिया
काठमाडौं, पुस १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोड सहितको विद्युतिय खोप प्रमाणपत्र प्रमाणीकरणको सुविधा ल्याएको छ । प्रत्येक व्यक्तिले कोभिड–९ विरुद्ध खोप लिएको...
काठमाडौं, पुस १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोड सहितको विद्युतिय खोप प्रमाणपत्र प्रमाणीकरणको सुविधा ल्याएको छ ।
प्रत्येक व्यक्तिले कोभिड–१९ विरुद्ध खोप लिएको सुनिस्चितता गर्न र कोभिड–१९ पूर्ण खोप पाएको सुनिस्चितता सहित वैदेशिक यात्रामा जानेहरुको लागि सहजिकरण गर्न उक्त सुविधा ल्याएको मन्त्रालयले जनाएको छ । उक्त विद्युतिय प्रमाणपत्र प्राप्त गर्न व्यक्ति स्वयंले अनलाइन मार्फत फारम भर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, https://vaccine.mohp.gov.np/public-request-formमा गई फारम भर्नु पर्नेछ । आवेदनमा परिचय पत्र वा पासपोर्टको फोटो, पासपोर्ट साइज फोटो र खोप कार्डको फोटो अपलोड गर्नुपर्छ । त्यसपछि आएको रजिष्ट्रेसन नम्बर सुरक्षित राख्न मन्त्रालयले आग्रह गरेको छ । भने आवेदन प्रमाणिकरण हुन कम्तीमा २४ देखि ४८ घण्टासम्म लाग्ने मन्त्रालयले जनाएको छ ।
यस्तै, https://vaccine.mohp.gov.np/searchमा गइ आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी आफ्नो आवेदनको अवस्था बुझ्न सकिन्छ । अन्तत आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरि प्रिन्ट गरेर प्रयोग गर्न सकिन्छ । यदि आवेदन स्वीकृत नभएको खण्डमा पुन सोही फारमलाई सच्याएर पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
कुनै प्राविधिक समस्या आएमा जोन्सन्स एण्ड जोन्सन्सको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य संस्था भएको स्थानिय पालिकाको स्वास्थ्य शाखामा सम्पर्क समेत मन्त्रालयले आग्रह गरेको छ । साथै यो प्रमाणपत्र कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक नपर्ने मन्त्रालयले जनाएको छ ।