Kathmandu Press

गठबन्धन बैठक : राष्ट्रिय सभाका १९ सिटको बाँडफाँट टुंगियाे, कुन दललाई कति सिट?

२० सिटमध्ये एमालेबाट रिक्त हुने आठ सिटमध्ये नेपाली कांग्रेसलाई ३, माओवादी केन्द्रलाई २ तथा नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रि जनमोर्चालाई १/१ सिट हुनेगरी बाँडफाँट गरेको हो।
गठबन्धन बैठक : राष्ट्रिय सभाका १९ सिटको बाँडफाँट टुंगियाे, कुन दललाई कति सिट?

काठमाडौं,पुस १९ : सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय सभामा फागुन २१ गतेदेखि रिक्त हुने १९ सिटको बाँडफाँट भएको छ।

आज (सोमबार) बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ती सिट बाँटफाँट गरेको हो। १९ सिटमध्ये एमालेबाट रिक्त हुने आठ सिटमध्ये नेपाली कांग्रेसलाई ३, माओवादी केन्द्रलाई २ तथा नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालाई १/१ सिट हुनेगरी बाँडफाँड गरेको हो।

अन्य ११ सिटमा भने साबिकका विजयी दलहरूले नै पाउने निष्कर्ष बैठकले निकालेको बालुवाटार स्रोतले जनाएको छ। मनाेनीतकाे एक सिट भने प्रधाननमन्त्रीले लिने बताइएको छ।

आगामी फागुन २१ गतेबाट चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। त्यसमा एमालेबाट ८, माओवादी केन्द्रबाट ४, नेकपा एकीकृत समाजवादीबाट ४, कांग्रेसबाट ३ र मनोनीत १ जना सांसद छन्।

यस हिसाबले मनोनीत १ पदलाई छाडेर कांग्रेसका लागि ६, माओवादी केन्द्रका लागि ६, एकीकृत समाजवादीलाई ५ सिट भागमा परेको छ। जसपा र राष्ट्रिय जनमोर्चाका लागि भने अहिले प्राप्त १/१ सिट मात्रै रहेका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएकाे बैठकमा  पाँच दलका शीर्ष नेता सहभागी थिए। 

राष्ट्रपतिबाट मनोनीत हुने एकबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले राष्ट्रिय सभाका सदस्य छनोट गर्नेछ।

राष्ट्रिय सभाका २ हजार २५ मतदातामध्ये ५ सय ३२ जना प्रदेशसभा सदस्य, १ हजार ४ सय ९३ जना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेका छन्।

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्