Kathmandu Press

माओवादी महाधिवेशन : धादिङका 'ज्युँदो शहीद' माथि फेरि अन्याय

धादिङबाट शालिकराम जम्मकट्टेल, पुष्पविक्रम मल्ल, कल्पना धमला, दीपा सिंखडा र ओम शर्मा केन्द्रीय सदस्य चयन हुँदा ‘ज्यूँदाे शहीद’ भनेर चिनिने पुराना र चिरपरिचित नेता रामबहादुर भण्डारीमाथि भने चरम अन्याय भएको छ।
माओवादी महाधिवेशन : धादिङका 'ज्युँदो शहीद' माथि फेरि अन्याय
Hardik ivfHardik ivf

काठमाडौं, पुस १९ : नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट घादिङका पाँच जना नेता केन्द्रीय सदस्य छानिएका छन्। 

बन्द सत्र समाप्त हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाचन गरेर सुनाएका केन्द्रीय सदस्यको सूचीमा धादिङबाट शालिकराम जम्मकट्टेल, पुष्पविक्रम मल्ल, कल्पना धमला, दीपा सिंखडा र ओम शर्माको नाम समोवश थियो। मल्ल यसअघि नै केन्द्रीय समितिमा थिए । अन्य ४ जना भने नयाँ केन्द्रीय सदस्यका रुपमा पछि थपिएका व्यक्ति हुन् ।

धादिङ  जिल्लाभरी माओवादी केन्द्रको राजनीतिक क्रियाकलाप र संगठन विस्तारमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेका पुराना नेता रामबहादुर भण्डारीमाथि भने पार्टीले फेरि अन्याय गरेको छ। 

अत्यन्तै शालीन  र सरल नेताका रुपमा परिचित भण्डारी यसपटकको महाधिवेशनबाट केन्द्रीय सदस्यमा छानिएनन्। पार्टीमा दिएको योगदानको आधारमा  जिल्लाबाट केन्द्रीय सदस्य बन्ने सूचीको पहिलो नम्बरमा भण्डारीको नाम हुनुपर्ने हो तर उनको योगदानलाई नजरन्दाज गर्दै नेतृत्वले भण्डारीलाई पाखा लगाएको छ।

२०३६ सालदेखि मसाल हुँदै माओवादीको राजनीतिमा सक्रिय भण्डारी २०५२ मा जनयुद्धको थालनी हुँदा भूमिगत भएका थिए। जनयुद्धकालमा नै उनले आफ्ना दुई छोराहरु गुमाए। जनयुद्धताका तत्कालिन सरकारले 'किलो सेरा-२' को अपरेशन चलाउँदा पहिलो गोली भण्डारीमाथि प्रहार गरेकाे थियाे।

प्रहरीले मृत्यु भयो भनेर फालेका भण्डारीलाई स्थानियले उद्दार गरेर अस्पताल पुर्याएका थिए । उनलाई नेता कार्यकर्ताले ज्यूँदो शहिद भनेर सम्बोधन गर्ने गर्छन् । घाइते अवस्थामै ३६ महिना जेल समेत बसेका उनै भण्डारीलाई माओवादी केन्द्रीय समितिको सुचीमा नराखेपछि धादिङ्गका नेता कार्यकर्ताले चर्को विरोध गरेका छन्।

त्यसो त माओवादी केन्द्रले केन्द्रीय सदस्य चयनको मापदण्ड केहो भनेर खुलाएको पनि छैन। पार्टीमा रुपान्तरण आवश्यक रहेको बताउँदै आएका प्रचण्ड पार्टीभित्रकै होनाहार नेतालाई चिन्न चुकेका छन्। 

अहिले मात्र होइन भण्डारीमाथि माओवादी केन्द्रले विभिन्न चरणमा अन्याय गर्दै आएको धादिङकै नेताहरु बताउँछन्। यसअघि सम्पन्न जिल्ला तथा प्रदेश सम्मेलनमा भण्डारीलाई पार्टीको केन्द्रीय सदस्यमा लैजाने भनिएकै कारण उनी जिल्लाको सहइन्चार्जमा चित्त बुझाएर बसेका थिए। तर केन्द्रीय सदस्यको सूचीमा उनको नाम आएपछि कार्यकर्ताहरुमा असन्तुष्ट पैदा भएको छ। 

यसअघि २०७० सालमा सम्पन्न निर्वाचनमा माओवादीले भण्डारीलाई समानुपातिक उम्मेवार बनाएको थियो । तर, समानुपातिकमा उनलाई उम्मेदवार बनाएर उनको नाममा आएको भोटप्रति गद्दारी गर्दै माओवादी केन्द्रले पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहलाई सांसद चयन गरेको थियो । पार्टीको निर्णयमा चित्त नबुझाउँदै कार्यकर्ताले जिल्लास्थित माओवादी कार्यालयमै आगजनी समेत गरिदिएका थिए।
 

प्रकाशित मिति: ११:३६ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्