सुडानका प्रधानमन्त्री हामदोकले दिए राजीनामा
काठमाडौं, पुस १९ : सुडानका प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिएका छन् । केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उनले पदबाट राजीनामा...
काठमाडौं, पुस १९ : सुडानका प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिएका छन् । केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उनले पदबाट राजीनामा दिएका । सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि हामदोकको राजीनामा आएको हो ।
टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका छन् । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’
गत अक्टोबर महिनामा सेनाले कु गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनरबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी पुनः प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो ।
सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो ।












