क्यान र खेलाडीबीच सहमति, खेलाडीमाथिको कारबाही फिर्ता गर्न क्यान तयार
काठमाडौं, पुस १८ : नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारबाही गरिएका चार खेलाडीबीच सहमति भएको छ । क्यान पदाधिकारी र खेलाडीबीच आइतबार...
काठमाडौं, पुस १८ : नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारबाही गरिएका चार खेलाडीबीच सहमति भएको छ । क्यान पदाधिकारी र खेलाडीबीच आइतबार छलफल गरेर सहमति गरिएको क्यानले बताएको छ ।
सहमति अनुसार क्यानले यसअघिका नियमित कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र, सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा लगाएको प्रतिबन्ध फुकुवा गर्न तयार भएको छ । क्यानका अनुसार कप्तान सन्दीप लामिछानेलाई दिनेमा दुवै पक्षबीच सहमति भएको छ ।
यसअघि खेलाडीको श्रेणी विभाजन र सेन्ट्रल कन्ट्रयाक्टको विषयमा असहमति जनाउँदै मल्ल लगायत खेलाडीले क्यानविरुद्ध प्रचारबाजी गरेको भन्दै कारबाही गर्दै क्यान बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्दै सन्दीपलाई कप्तानमा नियुक्त गरेको थियो । खेलाडीले भने क्यानको निर्णयमा असन्तुष्ट जनाउँदै प्रशिक्षणमा सहभागी नहुने अडान राख्दै आएका थिए ।
क्यानले शनिबार प्रशिक्षणका लागि ३० खेलाडी बोलाएपनि १६ खेलाडी मात्र उपस्थित थिए । आइतबार साँझ खेलाडी र क्यानका पदाधिकारीबीच सहमति भएसँगै सोमबारबाट सबै खेलाडी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी बन्न सहमत भएका छन् ।











