Kathmandu Press

टुहुरा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा

टुहुरा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा

रूकुम (पूर्व), पुस १८ : जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले टुहुरा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने भएको छ। जाडो अत्याधिक बढ्दै गएपछि स्थानीय प्रशासनले उनीहरुलाई न्यानो कपडाको व्यवस्था गर्न लागेको हो।

चिसोबाट बचाउनका लागि हिमपातजन्य विपद् प्रतिकार्य योजना, २०७८ बमोजिम ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १८ वर्षभन्दा मुनिका बुबा आमा नभएका बालबालिका र किशोर किशोरीलाई न्यानो कपडा वितरण गर्न लागिएको हो। न्यानो लुगा वितरण गर्न हिमपात हुने बस्तीलाई छनौट गरिएको छ। न्यानो बनाइ राख्न ठाउँठाउँमा आगो बाल्ने व्यवस्थासमेत गर्ने तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।  

Hardik ivf

समितिको आज बसेको बैठकले आगो बाल्न दाउरा खरिद गर्ने निर्णयसमेत गरेको छ। पुथा उत्तरगङ्गा गाउँपालिकाको तक, कोल र नयाँ बजारमा आगो बाल्न दाउराको व्यवस्था गरिने भएको छ। आगो बाल्न भूमे गाउँपालिकाको लुकुम, काँक्री, खाबाङ बगर, महत र गैरिगाउँ तथा सिस्ने गाउँपालिकाको कमलदह, रुकुमपूर्व अस्पताल क्षेत्र, छिप्री दह र खोपीचारमा दाउराको व्यवस्था गरिने प्रजिअ बाँस्कोटाले बताए।

दाउरा र न्यायो कपडाका लागि पुथा उत्तरगङ्गा गाउँपालिकाको जुनाङ, पुसर, मैकोट, दुले, कायमडाँडा, तिज्याङ, पेल्मा, झारलुङ, यामखार, हिम, गुइबाङ, रन्मा, घुन्मा, काजरजङ, हुकाम, थाकुर, मयाङ, घुम्लिबाङ, दमचन, तुपा, खोरे, ताँतु, क्यूबाङ र गोठबाङ, सिस्ने गाउँपालिकाको ठूलो सिस्ने, पाखापानी, लाम्पाखा, ओख्रेना, भट्टेचौर, मर्पे, रङ्गेनी, लैपा, धङगु र स्याम्जे, भूमे गाउँपालिकाको पञ्चासे, स्याला, रिकुम, लाटापानी, वनबालारिग, च्यारनेटा, चिप्लेगैरा, गाबाङ, तल्लो गाबाङ, रिककाँडा, घङघारी, मछैना, रिसाल चौर, मैबाङ, विस्कुम र थुम्का छहरालाई छनौट गरिएको छ। न्यानो कपडा खरिद गरी स्थानीय विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित वडाध्यक्ष र क्रियाशील राजनीतिक दलको रोहबरमा वितरण गर्न प्रशासनको तयारी छ। 

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्