मल किन्दा एक अर्ब भ्रष्ट्राचार, १० जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
काठमाडौं, पुस १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा...
काठमाडौं, पुस १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कम गुणस्तरको मल आयात गरेको आरोपमा अख्तियारले कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यस्तै आयात गरेको मल गुणस्तरीय रहेको भनी प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो ।
साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।











