Kathmandu Press

शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा जलपंक्षी गणना सुरु

महेन्द्रनगर, पुस १८ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना सुरुआत गरिएको छ।निकुञ्जभित्र र बाहिरी क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको...
शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा जलपंक्षी गणना सुरु

महेन्द्रनगर, पुस १८ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना सुरुआत गरिएको छ।

निकुञ्जभित्र र बाहिरी क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो। गणना अगामी माघ २ गतेसम्म जारी रहने छ।

यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए।

स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उनले बताए। उनका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुनेछ। अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुनेछ।

यस वर्ष कुन–कुन चरा देखिए यसबारे समेत रेकर्ड राखिने जनाएको छ। यससँगै सिमसार क्षेत्रको अवस्था, तालमाथिको मानवीय अतिक्रमण प्राकृतिकरूपमा भएको क्षतिबारेसमेत जानकारी लिइने उनले बताए।

गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए। तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताए। (रासस)

प्रकाशित मिति: ०७:०५ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्