यस्तो छ माओवादीको संशोधित निर्वाचन कार्यक्रम
काठमाडौं, पुस १८ : नेकपा (माओवादी केन्द्र) को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार,...
काठमाडौं, पुस १८ : नेकपा (माओवादी केन्द्र) को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार, निर्वाचन कार्यक्रम संशोधन गरेको हो। सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएका थिए।
त्यसपछि आयोगले शनिबारको निर्वाचन कार्यक्रम संशोधन गरेर आइतबारलाई तय गरेको हो। आज दिउँसो १ बजेसम्मबाट निर्वाचन कार्यक्रम शुरु हुने भएको छ।
आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज दिउसो २ देखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ।
उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ। उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ।
उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ।
आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म मतदानका लागि समय निर्धारण गरिएको छ।
माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए।











