Kathmandu Press

‘इन्द्रेणी’ रङमा सजिदै माओवादी केन्द्रीय समिति

‘इन्द्रेणी’ रङमा सजिदै माओवादी केन्द्रीय समिति

काठमाडौँ, पुस १७ : नेकपा (माओवादी केन्द्र)ले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ। माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ। निर्वाचन आयोगका अनुसार आजै पारित भएको विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने छ। यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ।

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ। केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन्।

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गरेको माओवादीले केन्द्रीय समितिमा २२ जनाको सहभागिता सुनिश्चित गरेको छ। लामो समयदेखि सामाजिक बहिस्करणमा पारिएको दलित समुदायलाई केन्द्रीय नेतृत्वमा ल्याउन लागिएको माओवादीको भनाइ छ। आयोगका अनुसार सो समूहमा पुरुषतर्फ सात जनामा एक युवा, महिला १२ जना र ४० वर्षभन्दा कम उमेर समूहका तीन जनाको प्रतिनिधित्व हुनेछ।

माओवादीले अल्पसङ्ख्यकको रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको छ। त्यसमा पुरुषतर्फ दुई निर्वाचित हुनेछन्। त्यसमा एक जना ४० वर्षमाथिका र अर्का एक ४० वर्षभन्दा कम उमेर समूहका छन्। मुस्लिम महिलातर्फ चार जना निर्वाचित हुँदा एक जना ४० वर्षभन्दा कम उमेर समूहको निर्वाचित हुने व्यवस्था गरिएको छ।

मधेशीतर्फ कूल २३ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन्। त्यसमा पुरुषको सङ्ख्या सात रहने छ। त्यसमा पनि छ जना ४० वर्षमाथिका र एक ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन्। महिलातर्फ कूल १६ जना निर्वाचित हुनेछन्। त्यसमा १३ जना ४० वर्ष उमेर समूहभन्दा माथिका र तीन ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन्।

आदिवासी जनजातितर्फ कूल ४३ जना निर्वाचित हुनेछन्। त्यसमा पुरुषको सङ्ख्या १४ रहेको छ। त्यसमा पनि ११ जना ४० वर्षमाथिका रहँदा तीन भने त्यसभन्दा कम उमेर समूहका हुनेछन्। त्यस्तै कूल २९ जना महिला निर्वाचित हुनेछन्। थारू समुदायलाई माओवादीले १० सिट उपलब्ध गराएको छ। त्यसमा तीन पुरुषको सहभागिता रहनेछ। महिला कूल सात जना हुनेछन्।

अपाङ्गता भएकातर्फ कूल दुई जना निर्वाचित हुनेछन्। त्यसमा पुरुष र महिलाको प्रतिनिधित्व एक/एक जनाको हुनेछ। पिछडिएको क्षेत्रतर्फ पनि दुई जना निर्वाचित हुनेछन्। त्यसमा महिला र पुरुषको सङ्ख्या समान एक/एक छ। यस्तै खुलातर्फ कूल १४५ जना निर्वाचित हुने व्यवस्था गरिएको छ।

माओवादीको आज पारित भएको विधानअनुसार पदाधिकारीको सङ्ख्या १५ हुने व्यवस्था गरिएको छ। त्यसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । कूल केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ। माओवादीले संविधानप्रदत्त अधिकारभन्दा पनि अगाडि बढेर सबै वर्ग तथा क्षेत्रको सहभागितालाई सुनिश्चित गरेको विधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जानकारी दिएका थिए।

इन्द्रेणीको सातै रङअनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरिएको र सबै वर्ग तथा क्षेत्रका अधिकारका लागि ‘जनयुद्ध’ को समयदेखि नै विशेष भूमिका प्रदान गरेको माओवादीको दाबी छ। महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकारसम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङको भनाइ थियो।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्