सन् २०२१ का प्रमुख घटना, जसले समग्र विश्वकै ध्यान खिचेका थिए
अंग्रेजी नयाँ वर्ष २०२२ सुरू भएकाे छ। बितेकाे वर्ष अर्थात् सन् २०२१ लाई फर्केर हेर्दा विश्वका केही घटनाले समग्र विश्वकै ध्यान खिचेका छन्।
काठमाडौं, पुस १७ : अंग्रेजी नयाँ वर्ष २०२२ सुरू भएकाे छ। बितेकाे वर्ष अर्थात् सन् २०२१ लाई फर्केर हेर्दा विश्वका केही घटनाले समग्र विश्वकै ध्यान खिचेका छन्। त्यस्ता केही घटना यसप्रकार छन् :
१. कोरोना दोस्रो लहरले भारत र नेपालमा गरेको क्षति

गत अप्रिलदेखि मेसम्म भारतबाट फैलिएको कोरोना भाइरसको दोस्रो लहरले त्यो देश मात्र नभई नेपालमा पनि विकराल स्थिति पैदा गर्यो। २७ दिनमा भारतमा करिब दैनिक १ देखि ४ लाखसम्म संक्रमित थपिए। सबैभन्दा बढी ६ मेमा करिब ४ लाख १४ हजार एक सय ८८ नयाँ संक्रमित थपिएका थिए।
मृत संक्रमितलाई जलाउन स्थान नहुँदा खुला स्थानमै सामूहिक अन्त्येष्टिसँगै काजक्रिया पनि गर्नुपर्ने बाध्यकारी अवस्था आइपरेको थियो। नेपाल पनि त्यस्तै परिस्थितिबाट गुज्रिएको थियो। दोस्रो लहरको उद्गमस्थाल भारत भइदिँदा नेपालमा पनि विकराल परिस्थितमा गुज्रिनुप¥यो।
२. डेल्टा तथा ओमिक्रोन भाइरस संक्रमण

सन् २०१९ को डिसेम्बाट सुरु भएको कोभिड–१९ २०२१ सम्म आउँदा कोरोनाका करिब पाँचवटा भेरियन्ट देखापरे। २०२० मा कोभिड–१९ ले महामारीको रुप लियो भने दोस्रो लहरको कोरोना २०२१ को सुरुवाती समयमा मत्थर हुँदै गए पनि त्यसकै म्युटेन्ट भेरियन्टका रुपमा डेल्टा भाइरस देखा प¥यो।
पश्चिमी राष्ट्रबाट सुरु भएको डेल्टा भाइरसले एसिया महादेश भने अनुमानितभन्दा कमै प्रभाव पा¥यो। डेल्टा भाइरस मत्थर हुँदै जाँदा २०२२ मा भने ओमिक्रोन अझ संक्रामक हुने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ।
३. आर्यन खान ड्रग केस

अक्टोबर ३ मा बलिउड बादशाह शाहरुख खानका जेठो सन्तान आर्यन खानलाई ड्रग केसलमा समातिएको थियो। एक जहाजको पार्टीमा समातिएका उनी करिब एक महिना मुम्बईको रोड जेलमा थुनिए। उक्त समाचारले भारतमा मात्र नभई विश्वमै लामो समय आर्यन खान समाचारका हेडलाइन बनिरहे। उनलाई २८ अक्टोबरमा बेल मिलेको थियो।
४. अफगानिस्तानमा तालिवानको कब्जा

करिब २० वर्षको तालिवानी र अमेरिकी सैनिकको द्वन्द्वपछि तालिवानले अफगानिस्तानमा पुन कब्जा गर्यो। अगस्ट १५ मा अमेरिकी सेनालाई परास्त गर्दै तालिवानी फौजले अफगानिस्तानमाथि नियन्त्रण गरेको थियो। जससँगै नागरिकको वाक् स्वतन्त्रता तथा महिला समावेशीकरणजस्ता विषयमा अंकुश लागेको छ।
५. चिलीमा ३५ वर्षका राष्ट्रपति

गत २४ डिसेम्बरमा, ग्रयाब्रियल बोरिक चिलीका कान्छा राष्ट्रपति भए। जसले विश्व व्यापी ध्यानार्कषण गर्यो। यस समाचारले विश्वमा नयाँ तरंग फैलियो। चुनावी अभियान सुरु गर्दा भने बोरिक ३४ वर्षका थिए।
द न्युयोर्क टाइम्समा उल्लेख भएअनुसार करिब ९८ प्रतिशत मतगणनामा उनले ५५ प्रतिशतको मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी एन्टिनओ कास्टले ४४ प्रतिशत मत हासिल गरेका थिए।
६. भारतमा किसान विधेयक फिर्ता

सन् २०२१ मा भारतीय प्रधानमन्त्री मोदीले आन्दोलनरत किसानहरूसँग हारेको इतिहास बनेको छ। उनले सन् २०२० को सेप्टेम्बरमा लोक सभामार्फत तीन वटा कृषि विधेयक पारित गरेका थिए।
जससँगै पन्जाब, उत्तराखण्ड तथा अन्य राज्यका किसानले लामो समयदेखि विरोध जनाइरहेका थिए। फलस्वरूप उनले गत २०२१ नोभेम्बर २९ मा उक्त विधेयक फिर्ता लिएको लोकसभाले घोषणा गर्यो।
७. अमेरिकी संसद भवन ‘क्यापिटोल बिल्डिङ’मा ट्रम्प समर्थकको हमला

अमेरिकाको संसद भवन ‘क्यापिटोल बिल्डिङ’मा यो वर्षको सुरुवातमै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हमला गरेका थिए। राष्ट्रपति निर्वाचनमा पराजय बेहोरेका ट्रम्पका समर्थकको भिडले क्यापिटोल बिल्डिङमा अचानक हमला गर्दा संसदको संयुक्त बैठक नै अवरुद्ध भएको थियो।
८. म्यानमारमा पुनः सैनिक ‘कु’, सुची नजरबन्दमा

म्यानमारमा सेनाले फेब्रुअरी १ को बिहानै ‘कु’ गर्दै सत्ता हत्याएको थियो। सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेत्री आङ सान सुची र राष्ट्रपति विन मिन्टलगायतलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो।
सेनाले अधिकांश सांसदलाई पनि गिरफ्तार गरेको थियो। जससँगै म्यानमारमा युवाहरूले सत्ताविरुद्ध अझै पनि विरोध प्रदर्शनी गरिरहेका छन्। विरोधका क्रममा भएको नरसंहारले विश्वका ध्यान तानेको थियो।











