Kathmandu Press

मन्त्री दाहालद्वारा भेहिकल एकेडेमीकाे निरीक्षण

काठमाडाैं, पुस १७ : वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर’को आज (शनिबार)...
मन्त्री दाहालद्वारा भेहिकल एकेडेमीकाे निरीक्षण

काठमाडाैं, पुस १७ : वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर’को आज (शनिबार) अवलोकन गरेका छन्। 

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले  यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ। नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ।

सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ। पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ। 
 
मन्त्री दाहाललाई एकेडेमीका अध्यक्ष राजेश घिमिरे, महाप्रबन्धक माधवप्रसाद अधिकारी, सञ्चालकत्रय रामनारायण घिमिरे, देवेन्द्र प्रधान तथा पूर्ण श्रेष्ठले एकेडेमीले गरिरहेका कामका बारेमा  जानकारी गराएका थिए। सो अवसरमा उनीहरूले मन्त्री समक्ष लाइसेन्स प्राप्त गर्ने सहज वातावरण तयार गरिदिन, ‘ट्रायलको कोटा वृद्धि गरिदिन, लाइसेन्स परीक्षाका लागि फाराम भर्न ‘सर्भर’लाई चुस्त राख्ने वातावरण तयार गरिदिन तथा प्रदेश कार्यालयबाट पनि लाइसेन्स वितरणका लागि उचित वातावरण तयार गरिदिन आग्रह गरेका थिए। 

मन्त्री दाहालले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले भने, ‘लाइसेन्स प्राप्त गर्ने सहज वातावरण तयार गरिदिन प्रदेश सरकार प्रतिवद्ध छ।’ सो अवसरमा यातायात व्यवस्था कार्यालय प्रमुख सञ्जय थापाको पनि उपस्थिति थियो।

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा आर्थिक सङ्कट परेको जनाइएको छ। ‘सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको छ। सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौं। हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत  सुविधा पाएका छैनौं,” एकेडेमीका सञ्चालक रामनारायण भने।

उनका अनुसार सो एकेडेमीमा लाइसेन्सका लागि दैनिक दुई हजार भन्दा बढी प्रयोगात्मक परीक्षा (ट्रायल दिन) सञ्चालन  गर्न सकिने आवश्यक पूर्वाधार रहेको छ तर सरकारले को ‘ट्रायलको कोटा’ निर्धारण गरिदिँदा आफ्नो क्षमता उपयोग गर्न पाएको छैन। 

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत कोरोनाका बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो। यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु. एक लाख आर्थिक सहयोगसमेत गरेको थियो।

प्रकाशित मिति: १७:०५ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्