विद्यार्थी र मन्त्रालयको बैठक निष्कर्षविहीन, सबै मेडिकल कलेजमा तालाबन्दी गरिने
काठमाडौं, भदौ १८ : चिकित्सा शिक्षा संघर्ष समिति र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच भएको बैठक निष्कर्षविहीन भएको छ।
चिकित्सा शिक्षाका नाममा सर....
काठमाडौं, भदौ १८ : चिकित्सा शिक्षा संघर्ष समिति र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच भएको बैठक निष्कर्षविहीन भएको छ।
चिकित्सा शिक्षाका नाममा सरकारी मेडिकलले नै ठगी गरेको भन्दै विद्यार्थी आन्दोलन गरिरहेका छन्। त्यसै विषयमा छलफल गर्न शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यार्थीलाई बोलाएको थियो।
बैठकमा शिक्षा मन्त्रालयका सह-सचिव हरि लम्सालले यसका लागि लामो प्रक्रिया अपनाउनुपर्ने भएकाले तुरुन्तै माग पूरा गर्न नसकिने भनाइ राखेका छन्। त्यसपछि विद्यार्थीले तत्काल लागू गर्नु पर्ने माग राखेका थिए।
केहीबेरको छलफलमा कुनै सहमति जुट्न नसकेको गण्डकी मेडिकल कलेजका विद्यार्थी अनित सिन्हाले बताए। चिकित्सा शिक्षा ऐनअनुसार, माग पूरा गर्ने पक्षमा मन्त्रालय नदेखिएको उनले बताए।
‘हामीलाई छलफलमा बोलाएर १७ जना साथीलाई पक्राउ गरेको छ। यसका लागि झन सशक्त रुपमा आन्दोलन गर्छौ,’ गण्डकी मेडिकल कलेजका विद्यार्थी सिन्हाले भने।
मागबारे सम्बन्धित निकाय सकारात्मक नभएकाले सबै मेडिकल कलेजमा तालाबन्दी गरिने संघर्ष समितिले जनाएको छ। समितिले आजै चितवन मेडिकल कलेजमा तालाबन्दी गरेको छ।