माओवादी केन्द्रको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित
काठमाडौं, पुस १७ : माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको...
काठमाडौं, पुस १७ : माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेस गर्नुभएको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुंगो लगाउन बन्दसत्र स्थगित गरिएको हो।
सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र स्थगित भएको कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीले जानकारी दिए। क्लस्टरअनुसारको आजै केन्द्रीय समितिको टुंगो लगाउने माओवादी केन्द्रको तयारी छ।
विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन्।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ। केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ।











