Kathmandu Press

संंस्कृत पढ्दै इस्लाम युवा इस्राफिल

महोत्तरी, पुस १७ : मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको संज्ञा प्रकरण हरर भन्छन्।...
संंस्कृत पढ्दै इस्लाम युवा इस्राफिल

महोत्तरी, पुस १७ : मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको संज्ञा प्रकरण हरर भन्छन्। सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दु धर्म परम्पराका पनि उच्च ब्राह्मण जातिले पढ्ने, बुझ्ने विषय हो भन्ने परम्परागत मान्यता तोड्दै अन्सारीले औपचारिक शिक्षामै संस्कृत व्याकरण विषय रोजेका  हुन्। 

अन्सारी मटिहानी–७ मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका छात्र हुनुहुन्छ। कक्षा ८ देखि यसै विद्यालयमा पढ्नु भएका इस्राफिलको संस्कृत भाषा, साहित्यसहित अन्य अनिवार्यबाहेक ऐच्छिक विषय संस्कृत व्याकरण हो।

‘संस्कृत आदिम भाषा हो, आदिकाल बुझ्न र पढ्न संस्कृत आवश्यक छ भन्ने लाग्यो,’ इस्राफिल भन्छन्, ‘त्यसैले आफ्नो घरपायकको विद्यालयमा संस्कृत पढ्ने अवसर पूरा गर्दैछु।’ आपmूलाई संस्कृत व्याकरणमा आचार्य (स्नातकोत्तर) गर्ने इच्छा रहेको इस्राफिल बताउँछन्।

‘संस्कृत उच्च पठित हिन्दूको भाषा बताउने पनि भेटिन्छन्त र भाषा कुनै जाति, समुदाय वा धर्म परम्परामा बाँधिएको हुँदैन भन्ने उदाहरण त मै छु,’ इस्राफिल भन्छन्, ‘विद्यालयमा पढ्दा गुरुजन, सहपाठी साथी र अन्य कसैबाट अपहेलित हुनु परेको छैन, बरु मैले सबैबाट मायाँ र उत्साह नै पाएको छु।’ अब इस्लाम धर्म परम्परा र हिन्दुभित्रकै पनि जनजाति र दलित समुदायले संस्कृत विषयको पठनपाठन रोजेर धार्मिक सङ्कुचनको परम्परा तोड्दैछन् ।

इस्राफिल आफ्नो विद्यालयका जेहेन्दार विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन्। ‘इस्राफिल जिज्ञासुसँगै मेहनती छन्,’ पौडेल भन्छन्, ‘विद्यालयमा यिनी औसत हैन, राम्रा विद्यार्थीमध्येका हुन्।’ सबै विषयमा राम्रो मेहनत गर्ने इस्राफिल कम्प्युटर विज्ञानमा पनि राम्रो दखल राख्ने पौडेलको भनाइ छ। कम्प्युटरमा राम्रो दखल भएका इस्राफिललाई नगरपालिकाले कम्प्युटर अपरेटरको रोजगारी दिएको छ। धार्मिक सहिष्णुताको एक अपूर्व नमुना आफ्नो विद्यालय रहेको इस्राफिल सगर्व बताउँछन्।

पछिल्लो समयमा केही महिना पहिलेदेखि विद्यालय अगाडिको धार्मिक महत्वको लक्ष्मीसागर तलाउमा प्रत्येक बिहीबार लक्ष्मीनारायणको सन्ध्याकालीन महाआरती थालिएको छ। इस्राफिलले यो महाआरतीमा सहभागिताका लागि उद्घोषण अपिल बनाएका छन्। इस्राफिलको अपिल ज्यादै मिठासपूर्ण रहेको मटिहानीवासी बताउँछन्।

१७७५ सालमा तस्मैयाबाबा भनिने एक सन्तले स्थापना गरेको त्यतिखेरको संस्कृत पाठशाला कालान्तरमा मुलुककै संस्कृत शिक्षाको केन्द्र बनेको मटिहानीवासी सगर्व बताउँछन् । विगतमा मधेसका हउन् कि पहाडका ब्राह्मण जातिका हिन्दू मात्र पढ्ने गरेका विद्यालय अब सबै जातजातिको साझा ज्ञान केन्द्र बनेको मटिहानी–७ कै बासिन्दा जिल्लाका वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी ८५ वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन्।

संस्कृतमा माध्यमिक तहको पढाइ सकेपछि उच्च तहको अध्ययन गर्न यहीँ नै याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) भएको हुँदा पढ्न चाहनेका लागि सजिलो रहेको छ। विद्यापिठमा स्नातकोत्तरसम्मको अध्ययन÷अध्यापन हुने गरेको छ।

विद्यालयमा अहिले १६० जना छात्रछात्रा छन्। यिनमा ब्राह्मण÷क्षेत्री (खस आर्य), पहाड÷मधेसका जनजाति र दलित समुदायका रहेका विद्यालयले जनाएको छ। ‘हो, इस्राफिल फरक धर्म समुदायबाट विद्यालयका मेधावी छात्र हुन्, यिनलाई देखेर अब इस्लाम परम्पराभित्रका विद्यार्थी बढ्ने हाम्रो विश्वास छ,’ प्रधानाध्यापक पौडेलले भने। केवट, धानुक र कुर्मीलगायतका स्थानीय जनजाति र चमार तथा  खत्वे जातिका दलित गरी अहिले २० भन्दाबढी विद्यार्थी रहेका पौडेलले जानकारी दिए।

विद्यालयमा पछिल्ला चार वर्षयता नियमित अखण्ड रुद्राभिषेक पाठ हुन्छ। विद्यालयको छात्राबासमै बस्ने छात्रले अखण्ड रुद्राभिषेक सञ्चालन गर्दै आएका छन्। पूर्वकालमा सुन्ने गरिएको गुरुकूल परम्पराको छनक यहाँ देखिने गरेको छ। विद्यालयले महर्षि फाउण्डेशनको सहयोगमा एक जना ध्यानगुरु पाएको र उनले नियमित योग, ध्यान र नैतिक शिक्षा दिने गरेको विद्यालयले जनाएको छ।

आजभन्दा ३०३ वर्ष पुरानो यो विद्यालय अहिले पहिलेका भवन र अन्य भौतिक संरचना भत्केर अभाव झेल्दैछ। ‘यसबारे चासो बढाउन हामी लागिपरेका छौँ”, प्रधानाध्यापक पौडेल भन्छन्। मुलुककै जेठो यो विद्यालयबारे स्थानीय तह, प्रदेश र केन्द्रसहितका सरकार र राज्यका अरु निकायको ध्यान पुग्न जरुरी भएको मटिहानीवासी बताउँछन्।

प्रकाशित मिति: १३:३७ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्