जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार
नेपालगन्ज, पुस १७ : जोखिमपूर्ण यात्रामा रहेका ४ सय ३४ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको छ।मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा...
नेपालगन्ज, पुस १७ : जोखिमपूर्ण यात्रामा रहेका ४ सय ३४ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको छ।
मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगन्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ। एक वर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ।
उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ। उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुवै सङ्ख्या अघिल्लो वर्षभन्दा बढी नै हो।
यस्तै श्रम र यौन शोषणमा परी उद्धार गरिएको सङ्ख्या ११ छ । एक वर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकामा २३ जना मात्र फेला परेका छन्। कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए।
उनले राज्यसँग खोजतलास र उद्धारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको बताए। बेचबिखनको बदलिँदा स्वरूपमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटना पनि देखिन थालेको कोइरालाको भनाइ छ।
रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा पुगेका ३२२ जनाको अवस्था अज्ञात रहेको पाइएको छ। हराइरहेका व्यक्तिको अवस्था पत्ता लगाउन विदेशस्थित विभिन्न संस्था र निकायसँग समन्वय भइरहेको कोइरालाले बताए।











