माओवादी महाधिवेशनबाट आज केन्द्रीय समिति चयन गरिँदै

काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत आज केन्द्रीय समिति चयन गर्ने तयारी भएको छ।
महाधिवेशनको बन्दसत्रले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गरेको थियो। प्रतिनिधिले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएपछि हलले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको थियो।
आज बिहान विधान पारित गर्ने कार्यसूची छ। माओवादी स्थायी समिति सदस्य देव गुरुङले माओवादीको नयाँ विधानको मस्यौदा पेश गरेका थिए।
केन्द्रीय समितिलाई समावेशी बनाउन नयाँ विधानको मस्यौदा पेश गरिएको हो। जसमा २९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ। यससँगै पदाधिकारी पनि बढाएर १५ बनाइएको छ।
आज विधान पारित भएसँगै केन्द्रीय समिति चयन गर्ने माओवादीको तयारी छ। नयाँ विधानअनुसार, निर्वाचन कार्यक्रम तय हुने निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।
पहिले २९९ सदस्यीय चयन गर्ने र त्यसपछि पदाधिकारी तय गर्ने माओवादीको तयारी छ। त्यसका लागि गृहकार्य भइरहेको जनाइएको छ।
माओवादीको आठौं महाधिवेशन पुस ११ गते सुरु भएको थियो। महाधिवेशनमा देशभरका एक हजार सात सय प्रतिनिधि सहभागी छन्।











