कोलोराडोमा डढेलोका कारण सयौं घरहरू प्रभावित
संयुक्त राज्य अमेरिका, पुस १६ : अमेरिकी राज्य कोलाराडोमा तीव्र गतिमा फैलिइरहेको डढेलोले सयौं घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय प्रशासनका...
संयुक्त राज्य अमेरिका, पुस १६ : अमेरिकी राज्य कोलाराडोमा तीव्र गतिमा फैलिइरहेको डढेलोले सयौं घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय प्रशासनका अनुसार डढेलोका कारण कम्तीमा ३३ हजार व्यक्तिलाइ उनीहरूको घर खाली गरी सुरक्षित स्थलतर्फ लगिएको छ।
लामो समयसम्मको खडेरीले गर्दा सुख्खा बनेको जङ्गली तथा घाँसे मैदानलाई आगोको ज्वालाले समातेपछि ती क्षेत्रमा रहेका घरहरू पनि डढेका हुन्।
कोलोराडोको बोल्डर काउन्टीमा कम्तीमा एक हजार ६०० एकड (६५० हेक्टर) जमिनमा डढेलो लागेको छ। अधिकांश उपनगरीय क्षेत्रमा आगलागी हुँदा मृत्यु र घाइते हुनेका सम्भावना रहेको अधिकारीहरूले चेतावनी दिएका छन्। सहरको एउटा होटल, सपिङ सेन्टर र अपार्टमेन्ट कम्प्लेक्स पनि डढेलोका कारण जलेका छन्।
बोल्डर काउन्टी शेरिफ जो पेलेले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, 'हामीलाई थाहा भएअनुसार सागामोर उपशाखाका करिब ३७० घर डढेलोका कारण खरानीमा परिणत भएका छन्। आगोको परिमाण, तीव्रता र घना जनसंख्या भएको क्षेत्रमा यसको उपस्थितिले गर्दा यहाँका स्थानीयहरू डढेलोमा जलेर घाइते हुने वा मृत्यु हुने सम्भावना अत्यधिक छ। यद्यपि अहिलेसम्म कुनै हताहतको सूचना बाहिरिएको छैन।'
कोलोराडोका सञ्चार माध्यमहरूले डढेलोका कारण कम्तीमा पनि छ जना बिरामी वा घाइते भएर अस्पतालमा भर्ना भएका समाचारमा उल्लेख गरेका छन्।
लुइसभिल र सुप्रिम शहरका लगभग ३३,००० मानिसहरूलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
शुक्रबार बिहानसम्ममा मौसम परिवर्तनको सङ्केत देखिएको र आगामी दुई दिन कोलोराडोमा भरी हिमपातको पूर्वानुमान गरिएको छ। मौसममा देखिएको परिवर्तनको सङ्केतले कोलोराडोबासीलाई तत्कालका लागि डढेलोजन्य सङ्कटबाट राहतको महशुस हुने देखिएको छ।












