बिपीले भित्र्याएको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक : देउवा
काठमाडौं, पुस १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिएका छन्।राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुक्रबार काठमाडौंको सुन्दरीजलस्थित...
काठमाडौं, पुस १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुक्रबार काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले अहिले मुलुक संघीय संरचनाको अभ्यासमा रहेको र यस्तो अवस्थामा सातै प्रदेशबीच एकता जरूरत भएको उल्लेख गरे।
प्रधानमन्त्री देउवाले नेपाल संघीय राज्य सञ्चालन प्रणालीमा गएको तथा देशले समावेशी सहभागिताको मर्म आत्मसात् गरेको अवस्थामा सातै प्रदेशबीच एकता हुनु अपरिहार्य रहेको बताए।
सबै जातजाति र धर्मसम्प्रदायबीचको मेलमिलापले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने प्रधानमन्त्री देउवाकाे भनाइ थियाे। बिपी कोइरालाले भित्र्याएको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले त्यसलाई अगाडि बढाउनुपर्ने धारणा उनले व्यक्त गरे।
उनले संघीयताबारे मानिसमा अझै पनि संशय रहेकाले मुलुकलाई एकताबद्ध गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। सो अवसरमा उनले संग्रहालयमा रहेका बीपी, गणेशमानलगायत नेताको सालिकमा माल्यार्पण गरेका थिए।











