धनकुटाको भेडेटारमा आजबाट खाना महोत्सव
धनकुटा, पुस १६ : धनकुटाको चर्चित पर्यटकीयस्थल भेडेटारमा नवौं खाना महोत्सव आज (शुक्रबार) बाट सुरु हुने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित...
धनकुटा, पुस १६ : धनकुटाको चर्चित पर्यटकीयस्थल भेडेटारमा नवौं खाना महोत्सव आज (शुक्रबार) बाट सुरु भएको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित महोत्सव १८ गतेसम्म जारी रहने होटल एसोसिएसन भेडेटारले जनाएको छ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने नाराका साथ कोरोनाका कारण थलिएको पर्ययटन व्यवसायलाई लयमा फर्काउने र भेडेटारको पर्यटकीय सम्भावनाबारे व्यापक प्रचार गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिएको हाे।
आयाेजकका अनुसार महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनका सामग्री प्रदर्शनी तथा बिक्री गरिनेछ।
हेली फन फ्लाइट, जिप लाइन, प्याराग्याइडिङलगायत साहसिक खेल अवसरसमेत महोत्सवमले जुराएकाे छ। महोत्सवमा सहभागी भएको अवसरमा भेडेटार आसपासका नाम्जे बजार, आत्माघर, नमस्ते झरना, पाथीबभरा मन्दिरलगायत स्थानमा घुम्न सकिने आयोजकको भनाइ छ।
महोत्सवमा ३० हजार आगन्तुक सहभागिता गराउने तथा एक करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको एसोसिएसनले जनाएको छ। महोत्सव अवधिभर पर्यटकलाई १० देखि ३० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।
२०६९ सालबाट नियमित महोत्सव हुँदै आएको छ। गत वर्ष भने कोरोना महामारीका कारण महोत्सव स्थगित गरिएको थियो।












