राष्ट्रिय मेलमिलाप दिवस : बिपीलगायत नेताको सालिकमा माल्यार्पण
काठमाडौं, पुस १६ : पैँतालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय परिसरमा रहेको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेताहरुको सालिकमा...
काठमाडौं, पुस १६ : पैँतालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय परिसरमा रहेको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेताहरुको सालिकमा माल्यार्पण गरिएको छ ।
सङ्ग्रहालयमा नेताहरु गणेशमान सिंह, योगेन्द्रमान शेरचन, दिवानसिंह राई र रामनारायण मिश्रको सालिकमा पनि माल्यार्पण गरिएको छ । सङ्ग्रहालयमा बिपी र गणेशमानको पूर्णकदको सालिक छ । शेरचन, राई र मिश्रको भने अर्धकदको सालिक निर्माण गरिएको छ ।
विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रको ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर स्थानान्तरण गरिएको थियो ।
कोइरालाको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि २०२५ साल कात्तिक १४ गते सुन्दरीजल बन्दी गृहबाट रिहा गरिएको थियो । उपचारका लागि कोइराला भारतलगायत देशमा गए। उपचारपछि भारत निर्वासनमै रहेका बेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ ४५ वर्षअघि अर्थात् २०३३ साल पुस १६ गते कोइरालालगायत नेता नेपाल फर्किएका थिए।
बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, खनुपरुद्धे रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता मेलमिलापको नीति लिई नेपाल फर्किएका थिए । नेपाल फर्कनुअघिदेखि नै बिपीलगायतका नेताविरुद्ध मृत्युदण्ड हुनसक्ने आठ मुद्दा दर्ता गरिएको थियो ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, सिंहलगायतलाई सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एकपटक सुन्दरीजल बन्दी गृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको हो ।
सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’(आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए ।
बन्दीगृहमा बस्नुअघि २००८ सालमा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवत्र्तकका रुपमा चिनिन्छन्। विसं २०३३ पुस १६ गते मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएको अवस्थामा लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त सङ्ग्रहालय पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । सङ्ग्रहालयलाई पुरानै स्वरुपमा पुनःनिर्माण गरिएको छ । पुनःनिर्माण सम्पन्न भएपछि बिपीलगायत यहाँ बन्दी बनाइएका नेताका चीजबीजको सङ्ग्रह फेरि अवलोकनका लागि राखिने सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले राससलाई जानकारी दिए। सङ्ग्रहालय स्थापना भएण्देखि भूकम्पअघिसम्म पनि बिपीलगायत राजनेताका धेरै सामग्री यहाँ अवलोकनका लागि राखिएको थियो।











