प्रधानमन्त्री देउवा आज दिउँसो ३ बजे बिपी संग्रहालय जाने

काठमाडौं, पुस १६ : प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) दिउँसो ३ बजे सुन्दरीजलस्थित बिपी संग्रहालय जाने भएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा उनी बीपी संग्रहालय जान लागेको उनको सचिवालयले जानकारी दिएको हो।
२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।
सोही दिनको सम्झनामा कांग्रेसले पुस १६ गतेका दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरेको छ।
राजकाज मुद्दाको बेवास्ता गर्दै स्वदेश फर्किएकै दिन बिपीलाई तत्कालीन सरकारले गणेशमान सिंह, शैलैजा आचार्य, खुमबहादुर खड्कालगायत नेतासँगै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट गिरफ्तार गरेको थियो। उनीहरूलाई सुन्दरीजल बन्दीगृह लगेर थुनिएको थियो।











