नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि
नयाँ दिल्ली, पुस १६ : दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन्।...
नयाँ दिल्ली, पुस १६ : दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन्। हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए।
अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु त ओमिक्रोनकै भएको बताए। उनले भने, ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरुमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ। त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ। त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ।’
‘कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको संक्रमण पुगेको छ,’ उनले भनेका छन्, ‘भारतमा ओमिक्रोनको संक्रमण भित्रिएको धेरै भएको छैन तर यहाँका नागरिकमा निकै तीव्र गतिमा यो फैलिएको छ।’












