Kathmandu Press

माओवादी केन्द्रमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रक्रिया सुरु हुने 

काठमाडौं, पुस १५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ ।पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सम्पन्न गर्ने...
माओवादी केन्द्रमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रक्रिया सुरु हुने 

काठमाडौं, पुस १५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई  दिनको समय लागेको तथा नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको कार्यसूची लम्बिन पुगेको हो । शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन जारी रहन सक्ने बताइएको छ । पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने जानकारी दिए । 

आठौँ राष्ट्रिय महाधिवेशन यही पुस ११ देखि प्रज्ञा प्रतिस्ठान कमलादीमा जारी छ । महाधिवेशनको पाँचौँ दिन तथा बन्दसत्रको चौथो दिन आज पनि जारी रह्यो । आजको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुति भएको थियो । 

माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज साँझ महाविधेशनस्थल कमलादीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  दिइएको जानकारीअनुसार समूहगत प्रस्तुति सकिएसँगै शुक्रबार पुनः दिउँसो १ बजे पुनः बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । शुक्रबारको बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ ।

सबै समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाएका छन् । दस्तावेजको मूल मर्मप्रति समर्थन जनाउँदै समूह प्रमुखहरूले ‘चालु महाधिवेशनबाटै विचार संश्लेषण गर्नुपर्ने, २१औँ शताब्दीको समाजवादको स्पष्ट व्याख्या तथा समाजवादी क्रान्तिको चरणबद्ध कार्यक्रमसहित स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि सार्नुपर्ने, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकाल, मन्त्री र सांसदमा चार कार्यकालभन्दा बढी हुन नहुने व्यवस्था राख्न माग गरे ।

पार्टी कमिटीको प्रमुख पदमा दुई कार्यकाल मात्र काम गर्नुपर्ने, समानुपातिक पदहरूमा एक कार्यकाल मात्र पठाउनुपर्ने र अवसरहरूको वितरणमा आलोपालो प्रणाली अवलम्बन गर्नुपर्ने, पार्टीमा ७० वर्षीय उमेर हद तोकेर अनिवार्य अवकाशको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । नेतृत्व चयनमा ५० प्रतिशत निर्वाचन र ५० प्रतिशत कार्यसम्पादन मूल्याङ्कनको अङ्क कायम गर्नुपर्ने, केन्द्रीय नेताहरुको सम्पत्ति विवरण वार्षिक सार्वजनिक गर्नुपर्ने, सुदृढ पार्टी निर्माणको लागि केन्द्रीय कमिटीसहित सबै तहका कमिटीको आकार घटाई दुई अङ्कको बनाउनुपर्ने सुझाव समूहगत छलफलमा आएको छ ।

पार्टी परित्याग गरी पुनः पार्टीमा फर्किने नेता कार्यकर्तालाई एक तह घटुवा गरी सङ्गठित गर्नुपर्ने, नेताले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने, पार्टीभित्र सबै नेता कार्यकर्ताको सांस्कृतिक आचरणसम्बन्धी आचारसंहिता बनाई कडाइका साथ पालना गराउनुपर्ने समूहगत निष्कर्ष रहेको छ । 

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्