साढे ११ करोड लागतमा काष्ठमण्डप पुनर्निर्माण, माघ २ गते उद्घाटनको तयारी
काठमाडाैं, पुस १५ : २०७२ सालको भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ। उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु. ११...
काठमाडाैं, पुस १५ : २०७२ सालको भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ। उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु. ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो।
आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनःनिर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी छ। यही पुस मसान्तसम्म पुस्तक प्रकाशनको काम पूरा हुने शाक्यले बताए।
मङ्सिरमै सम्पदा पुनःनिर्माणको काम सकिएको हो। भूकम्पका कारण पूर्णरूपमा क्षति भएको उक्त सम्पदा ६ वर्षपछि पुनःनिर्माण गरिएको हो। २०७५ वैशाख १६ गतेदेखि पुनःनिर्माणको काम समितिमार्फत सुरु गरिएको थियो ।
६ जिल्लाबाट ल्याइयो काठ
काष्ठमण्डप पुनःनिर्माणका लागि तराईका ६ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको छ। अध्यक्ष शाक्यका अनुसार काष्ठमण्डप पुनःनिर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ। अन्यको तुलनामा सालको काठ बढी टिकाउ हुने भएकाले काष्ठमण्डप पुनःनिर्माणमा सालको काठ प्रयोग गरिएको शाक्यको भनाइ छ।
काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको हो। ‘काष्ठमण्डपका मूल चार थाममध्ये एउटा थाम पुरानै र तीन नयाँ प्रयोग गरिएको छ। पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्याइएको अग्राखको हो। पुनःनिर्माणका क्रममा धेरै नयाँ काठको प्रयोग भए पनि केही पुराना काठको पनि प्रयोग छ।
पुनःनिर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुंगा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ। त्यसैगरी भूकम्पका कारण क्षति भएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको हालसम्म ३० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। यहाँ ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन।
भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शयनकक्ष, त्रिभुवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ। अहिले बनिरहेका सम्पदाको काम पूरा नगरी अन्य नयाँ काम सुरु गर्न नसकिने भएकाले अझै पुनःनिर्माणको काम हुन नसकेको हो।











