वाग्मती प्रदेश कृषिका लागि ५१ बुँदे रुपान्तरण मार्गचित्र
काठमाडौं, पुस १५ : वाग्मती प्रदेशअन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशस्तरीय कृषि विकास अवधारणासहित ५१ बुँदे ‘कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण...
काठमाडौं, पुस १५ : वाग्मती प्रदेशअन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशस्तरीय कृषि विकास अवधारणासहित ५१ बुँदे ‘कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र–२०७८’ प्रकाशित गरेको छ।
‘आत्मनिर्भर कृषि–समृद्ध प्रदेश’ को नारासहित ५१ बुँद्धे मार्गचित्रले वाग्मती प्रदेशको समग्र कृषि क्षेत्रको विकास गर्ने लक्ष्य राखेको सचिव डा. शरण पाण्डेले काठमाडौं प्रेसलाई जानकारी दिए। ५१ बुँद्धे मार्गचित्रले प्रदेश खाद्य परिषद्, प्रदेश कृषि विकास ऐन, मत्स्य प्रवर्धन नीति, प्रदेश दुग्ध प्रवर्धन नीति, प्रदेश पोल्ट्री विकास ऐनजस्ता ऐनको व्यवस्था गरिएको छ।
‘हरेक योजना कार्यान्वयनका लागि ऐन आवश्यक हुन्छ। सोही ऐनको टेकोमा हामीले योजना कार्यान्वयन गर्नु पर्ने हुन्छ,’ सचिव डा. शरण पाण्डे भन्छन्, ‘मार्गचित्रसँगै वाग्मती प्रदेशको समग्र कृषि विकासका लागि प्रभावकारी हुनेमा हामी आशावादी छौँ।’
त्यस्तै, कृषकहरूले गरेको लगानी, उत्पादन र आम्दानीअनुसार वर्गीकरण गर्ने भएको छ। व्यावसायिक कृषकलाई हरियो जोन, अर्धव्यावसायिकलाई पहेलो जोन र निर्वाहमुखी कृषकलाई रातो जोनमा वर्गीकरण गर्ने भएको छ।
सोही वर्गीकरणअनुरूप कृषि कार्यक्रम कार्यान्वयन गरिने पनि सचिव डा. पाण्डेले बताए। यसबाहेक कृषिका अन्य विविध पक्षलाई पनि मार्गचित्रले समेटेको छ।











