माओवादी केन्द्रको अधिवेशन : मतदानका लागि कार्यतालिका सार्वजनिक गरिने
काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यको मतदानका लागि कार्यतालिका सार्वजनिक गरिने भएको छ।सम्भव भएसम्म मतदाता नामावली पनि आजै...
काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यको मतदानका लागि कार्यतालिका सार्वजनिक गरिने भएको छ।
सम्भव भएसम्म मतदाता नामावली पनि आजै प्रकाशित गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र देवप्रसाद गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्न १ हजार ७ सय प्रतिनिधिबाट २५ समूह विभाजन गरिएको थियो।
समूहगत छलफलपछि बुधबार ११ समूहले आआफ्नो सुझाव र निष्कर्ष पेस गरिसकेका छन्। बाँकी रहेको १४ समूहले आज (बिहीबार) सुझाव प्रस्तुत गर्ने क्रम जारी छ।
सबै समूहले सुझाव दिइसकेपछि आज (बिहीबार) निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको आयोगले बताएको छ।
आयोगका अनुसार भोलि (शुक्रबार) उम्मेदवारी दर्ता गर्ने तयारी पनि भइरहेको छ। सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसकिएको अवस्थामा भोलिबाटै मतदान हुनेछ।
माओवादीको अन्तरिम विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ। विधानअनुसार केन्द्रीय समितिमा चयन भएकाहरूले पदाधिकारीका लागि उम्मेदवारी दिनेछन् र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरूले पदाधिकारीका उम्मेदवारलाई मतदान गर्नेछन्।
माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ।











