प्रचण्डको प्रतिवेदनमाथि आज १४ समूहका नेताले बोल्ने

काठमाडौं, पुस १५ : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत आज १४ वटा समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बोल्ने भएका छन्।
माओवादीको महाधिवेशनमा अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि छलफल गर्न २५ समूह बनाइएको थियो।
सबै समूहले छलफल गरिसकेका छन् भने बुधबारदेखि निश्कर्ष सुनाउन थालेका छन्। बुधबार ११ वटा समूहका नेताले बोलेका थिए।
आज बाँकी १४ वटा समूहका नेताले प्रचण्डको प्रतिवेदनमाथि बोल्ने माओवादीले जनाएको छ। आज बिहान ११ बजेदेखि समूह नेताहरुले बोल्ने कार्यक्रम रहेको माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
सबै समूहका नेताले बोलिसकेपछि अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि उनको प्रतिवेदन पारित गरिनेछ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित भएपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुने जनाएको छ। माओवादी महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। जसमा १५ पदाधिकारी रहनेछन्।
प्रज्ञा भवनमा पुस ११ गते सुरु भएको महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ। यसमा एक हजार ६ सय ३१ प्रतिनिधि सहभागी छन्।











