नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा
काठमाडाैं, पुस १४ : नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ...
काठमाडाैं, पुस १४ : नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा आएको छ।
लाहाचोकमा १३२/३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ। निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छे र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति दिइनेछ।
यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरिय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनले भने, 'पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेजलगायत समस्या थियो। अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउनेछन् भने विद्युत् चुहावट समेत घट्नेछ।'
आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ। एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजनाअन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ। सन् २०१८ जुलाई २१ बाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए।











