‘गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ बिहीबारदेखि
बागलुङ, पुस १४ : ‘गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ बिहीबारदेखि सुरु हुँदैछ। गलकोट नगरपालिका–६ मजुवा फाँटमा आयोजित महोत्सव आउँदो २६ गतेसम्म चल्नेछ। महोत्सवको...बागलुङ, पुस १४ : ‘गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ बिहीबारदेखि सुरु हुँदैछ। गलकोट नगरपालिका–६ मजुवा फाँटमा आयोजित महोत्सव आउँदो २६ गतेसम्म चल्नेछ। महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने आयोजक ‘ड्रिम टिम गलकोट’ले जनाएको छ।
महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष रुपक पाण्डेले बताए। महोत्सवमा खुला भलिबल प्रतियोगिता, फुटसल, गलकोट डान्स आइडल–२०७८, भ्वाइस अफ गलकोट, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता राखिएको छ।
महोत्सवमा कृषि उपज, पुरातात्विक वस्तु, झाँकी, मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला, बाल उद्यान र साङ्गीतिक कार्यक्रम पनि हुने अध्यक्ष पाण्डेले जानकारी दिए। लाइभ दोहोरी र कन्सर्टको पनि आयोजना गरिएको छ। 'कला, खेल, संस्कृतिको जगेर्नाका साथै व्यापार प्रवद्र्धनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएको हो,' अध्यक्ष पाण्डेले भने। कोरोना सङ्क्रमण मत्थर भएको र दुई वर्षदेखि गलकोटमा खेल, कला र मनोरञ्जनका गतिविधि नभएकाले महोत्सव सफल हुने आयोजकको विश्वास छ।
महोत्सवमा विभिन्न विधाका कलाकारको साङ्गीतिक प्रस्तुती पनि रहने जनाइएको छ। गायक प्रमोद खरेल, विष्णु खत्री, प्रकाश सपुतलगायत कलाकार महोत्सवमा आउँदैछन्। यसअघि पनि गलकोट उद्योग वाणिज्य सङ्घ, गलकोट घुम्टे पर्यटन विकास केन्द्रलगायत सङ्घसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए। कोरोना महामारीका कारण दुई वर्षदेखि त्यस्ता कार्यक्रम रोकिन पुगेका थिए। अहिले कोरोना सङ्क्रमण दर न्यून रहेको र कोरोना विरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला तथा महोत्सव हुन थालेका हुन्।
ठूलो राशिको भलिबल प्रतियोगिता
महोत्सवको मुख्य आकर्षणका रुपमा भलिबल प्रतियोगितालाई लिइएको छ। खुला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि ठूलो छ। विजेता टिमले रु दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ पुरस्कार प्राप्त गर्नेछ। तेस्रो स्थान प्राप्त गर्नेलाई रु ५० हजार पुरस्कार दिइनेछ।
गलकोट डान्स आइडलका विजेताले ६१ हजार १११ रूपैयाँ, उपविजेताले २५ हजार ५५५ रूपैयाँ र भ्वाइस अफ गलकोट गायन प्रतियोगिताका विजेताले ५५ हजार ५५५ रूपैयाँ र उपविजेताले २१ हजार १११ रूपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। अन्य प्रतियोगितामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।