Kathmandu Press

सञ्चारमन्त्रीद्वारा ३१ प्रकारका टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान

काठमाडौं, पुस १४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका प्राकृतिक, जैविक, सामाजिक र सांस्कृतिक सम्पदाका विषयसँग सम्बन्धित ३१ प्रकारका विभिन्न तस्बिर अङ्कित...
सञ्चारमन्त्रीद्वारा ३१ प्रकारका टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान

काठमाडौं, पुस १४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका प्राकृतिक, जैविक, सामाजिक र सांस्कृतिक सम्पदाका विषयसँग सम्बन्धित ३१ प्रकारका विभिन्न तस्बिर अङ्कित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका छन्। सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले पनि टिकटमा टाँचा प्रदान गरे।

फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले नेपालका विभिन्न हिमाल र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको हो। हुलाक सेवा विभागद्वारा यहाँ आयोजित सन् २०२१ को हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमका अवसरमा सञ्चारमन्त्री कार्कीले प्राकृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रचारप्रसार गर्न र नेपालको पहिचान कायम गर्न प्रकाशित टिकट प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे । दिगो विकास लक्ष्यमा अङ्कित १७ वटा, विभिन्न हिमालका आठ र विभिन्न पद मार्गसम्बन्धी चारवटा टिकटमा टाँचा प्रदान गरिएको हो ।  

सरकारका प्रवक्ता कार्कीले भने, ‘यो मुलुकलाई प्रकृतिले जति सम्पदा दिएको छ, त्यसलाई विश्वमा प्रचारप्रसार गरेर देशलाई दिगो शान्ति, सुशासन र विकास गरेर समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्दछ, र हाम्रा सबै गतिविधि त्यसैमा केन्द्रित हुनुपर्छ।’ 

उनले नेपाल विविधताले भरिएको, विभिन्न भाषा, संस्कृति, रीतिरिवाज रहेको र तिनीहरू हाम्रो ठूलो शक्ति रहेकाे बताए । ‘देशलाई एकताबद्ध गर्न  टिकट प्रकाशन गरेर सन्देश दिन खोजेका छौँ र दिइरहेका छौँ । एकताबद्ध भएर समृद्धितर्फ केन्द्रित हुनु छ, त्यस दिशामा अगाडि बढाउनका लागि हाम्रा काम कारबाही निर्देशित भएका छन्,’ उनले भने।

संयुक्त राष्ट्र सङ्घले लिएको दिगो विकास लक्ष्यलाई सहयोगका निम्ति पनि महिला आर्टिष्टले तयार गरेको हस्त निर्मित मिथिला आर्टलाई टिकटको रुपमा प्रकाशन गरिएको उनले बताए। राष्ट्र सङ्घले लिएको दिगो विकास लक्ष्यमा सक्रिय सहभागिता गराउनका लागि टिकट प्रकाशनमा ल्याएको उनको भनाइ छ।

मन्त्री कार्कीले सुन्दर पर्यटकीयस्थलका रूपमा परिचित कास्कीको घान्द्रुक र नेपालका हिमालयलाई चित्रित गरेर टिकट प्रकाशले देशलाई समृद्धिको बाटोमा अग्रसर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

सञ्चार मन्त्रायलका सचिव डा अर्यालले दिगो विकास लक्ष्यलाई नेपालको संस्कृति, मौलिक कलासँग आबद्ध गर्नका लागि पनि दिगो विकास लक्ष्यका १७ वटा उद्देश्य अङ्गीकृत हुलाक टिकट प्रकाशन गरिएको बताए। हुलाक टिकट प्रकाशनले बिगो विकास लक्ष्यलाई प्रदेश र स्थानीय तह हुँदै स्थानीयकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हुलाक टिकट प्रकाशनले समग्रमा हाम्रो संस्कृति, प्रतिबद्धता, स्थानीय तहसम्म पुग्न सक्ने माध्यमलाई योगदान गर्दछ भन्ने मेरो विश्वास छ।’ उनले आगामी दिनमा पनि मौलिक संस्कति, कला र प्राकृतिक सौन्दर्यतालाई अझ बढी उजागर गर्ने गरी हुलाक टिकट प्रकाशन गर्दै जाने विश्वास दिलाए। 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्