प्रचण्डको प्रतिवेदनमाथि सुझाव : ‘नो एमसीसी’ नीतिदेखि छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्नेसम्म
प्रचण्डको प्रतिवेदनमा एमसीसी मुलुकको हितविपरित रहेका कारण परिमार्जन गरेर मात्रै पारित गराउनुपर्ने उल्लेख छ। बिडारीले भने एमसीसी पारित नै गर्न नहुने बताएका छन् । ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ,’उनले भनेका छन्।
काठमाडौं, पुस १४ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका छन्।
प्रचण्डको प्रतिवेदनमाथि छलफलका लागि गठन भएको सल्लाहकार समूह अन्तर्गतको समूह ‘ख’ को तर्फबाट सुझाव पेस गर्दै बिडारीले एमसीसीका बारेमा पार्टीको निर्णायक धारणा हुनुपर्ने माग गरेका हुन्। उनले माओवादी केन्द्र एमसीसी खारेजीको पक्षमा हुनुपर्ने बताएका हुन्।
प्रचण्डको प्रतिवेदनमा एमसीसी मुलुकको हितविपरित रहेका कारण परिमार्जन गरेर मात्रै पारित गराउनुपर्ने उल्लेख छ। बिडारीले भने एमसीसी पारित नै गर्न नहुने बताएका छन् । ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ,’उनले भनेका छन्।
उनले पार्टीले कृषि व्यवसायलाई प्रभावकारी बनाइनुपर्ने, जनयुद्धका सहिद, घाइते, अपांगहरुलाई सम्मान र सुरक्षा दिने गरी पार्टीको नीति हुनुपर्ने धारणा राखे।
त्यस्तै प्रदेश समूह १० को निष्कर्ष सुनाउँदै गायत्री गुरुङले माओवादी केन्द्रका सबै केन्द्रीय सदस्यहरुले आफ्नो सन्तानलाई सामूदायिक विद्यालयमा पढाउनुपर्ने बताएकी छन् । उनले पार्टी नेतृत्व देखि केन्द्रीय सदस्यसम्मले सम्पत्ती विवरण सार्वजनिक गर्ने र जीवनशैली सरल बनाउन ध्यान दिनुपर्ने पनि बताएकी छन्।











